बागलुङ नगरपालिकाले गर्याे कुकुरको व्यवस्थापनका लागि अनिवार्य दर्ता

बागलुङ , २ साउन । बागलुङ नगरपालिकाले कुकुरको व्यवस्थापनका लागि अनिवार्य दर्ता गराउनुपर्ने व्यवस्था गरेकाे छ ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको छ ।

नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।

कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि रू १५ लाख विनियोजन गरेको छ ।

नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताउनुभयो । उहाँका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।

पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि रू दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि रू एक सय तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा रू एक हजारभन्दा बढी सेवासुविधा दिने उहाँले बताउनुभयो ।

“घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं”, प्रमुख सापकोटाले भन्नुभयो, “नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।” घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उहाँले बताउनुभयो ।

सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उहाँको भनाइ थियो ।

नगरभित्र छाडा कुकुरका कारण दुर्घटना बढ्नुका साथै छाडा कुकुरले टोक्दा रोग फैलिएको घटना बढ्दै गएकाले छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।