सरुमारानीको सरकारी विद्यालयमा पनि अब विद्यार्थीका लागि बस सररर
ष्युठान, ३ साउन । प्युठानको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ। जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाबाट विनियोजित ३५ लाख २३ हजार रुपियाँमा स्कुल बस खरिद गरिएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्माले सरुमारानी ४ बड्डाडामा स्कुल बसको उद्घाटन गर्दै स्कुल बस सञ्चालनपछि बिद्यार्थीलाई आउजाउका लागि सहज हुने बताउनुभयो । ‘हिड्नुपर्ने बालबालिकाको दुःख देखेर स्कुल बस खरिद गर्ने निर्णय गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘सरुमारानिको शैक्षिक विकासका लागि हामी लागिरहेका छौँ । तपाईँहरुले पनि साथ दिनु होला भन्ने अपेक्षा छ ।’ शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पुग्ने अध्यक्ष विश्वकर्माको भनाइ छ।
शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधिको सक्रीय पहलले सिंगो विद्यालय परिवारलाई उत्साहित बनाएको विद्यालय व्यबस्थापन समितीका अध्यक्ष टिकाराम पल्लीले सुनाउनुभयो ।
गाउँमा विद्यालय नहुँदा चार घण्टासम्म पैदल हिडेर आउजाउ गर्नुपर्ने बालबालिकाको शिक्षाका लागि बस सेवा प्रभावकारी हुने बिश्वास गरिएको छ।बस नहुँदा हपुरखोला,छत्तिवनदमार, मोतिपुर, कुँडुले लगायतका बालबालिकालाई दैनिक २४ किलोमिटर बाटो हिड्नुपर्ने बाध्यता थियो।
बस सञ्चालनमा आएपछि पैदल हिडेर स्कुल पुग्ने झण्डै एकसय तीस विद्यार्थी लाभान्वित हुने छन्। वि।सं २०१५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १०सम्म पढाई हुने गरेको छ। हाल यस स्कुलमा ६ सय ३० जनाविद्यार्थी अध्ययनरत रहेको प्रधानअद्यापक गोपाल भुसालले जानकारी दिनुभयो ।
