सरकारी खरिदमा ढिलाइ, बर्दियाका किसान सस्तोमा धान बेच्न बाध्य
बर्दिया, ३० कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान न्यूनतम समर्थन मूल्यभन्दा निकै कममा धान बिक्री गर्न बाध्य भएका छन् ।
हिउँदेबाली लगाउन आवश्यक खर्च र घरायसी आवश्यकता पूरा गर्न किसानले प्रतिक्विन्टल दुई हजार ८०० देखि दुई हजार ९०० रुपैयाँसम्ममा मोटा धान बिक्री गरिरहेका छन् । जबकि सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ तोकेको छ ।
गुलरिया–१२ का किसान जगमोहन थारूले प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँका दरले ३०० क्विन्टल धान बिक्री गरेको बताउनुभयो । किसानले समयमै सरकारी खरिद सुरु नभएकाले सस्तोमा धान बेच्नुपरेको गुनासो गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरले भने मङ्सिर ३ गतेदेखि धान खरिद गर्ने जनाएको छ । कम्पनीले यस वर्ष बर्दियाबाट ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार जिल्लाका आठवटै पालिकाबाट प्रतिपालिका तीन हजार क्विन्टलका दरले धान खरिद गरिनेछ । यसमध्ये २४ हजार क्विन्टल पालिकामार्फत र बाँकी छ हजार क्विन्टल कम्पनीको आफ्नै परिसरबाट खरिद गर्ने योजना छ ।
नेपाल किसान महासङ्घका अध्यक्ष बिपी भण्डारीका अनुसार गत वर्ष कात्तिक १९ गतेदेखि खरिद सुरु भएकोमा यस वर्ष ढिलाइ हुँदा किसानले आधाभन्दा बढी धान सस्तोमा बिक्री गरिसकेका छन् ।
बर्दियामा करिब ५० हजार १०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यहाँ वार्षिक दुई लाख २८ हजार ८१ मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि कार्यालयले जनाएको छ ।
