नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक, मङ्सिर १० देखि सुरु हुने

भक्तपुर, ३० कात्तिक । भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको यस वर्षको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ । तालिकाअनुसार आगामी मङ्सिर १० गतेदेखि जात्रा सुरु भई चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

जात्राको सुरुआत मङ्सिर १० गते भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शनसँगै हुनेछ । जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाका अनुसार मङ्सिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौँ र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ ।

तालिकाअनुसार पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म थिमिका विभिन्न स्थानमा जात्रा हुनेछ । पुस १७ देखि २१ गतेसम्म काठमाडौँको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा सञ्चालन गरिनेछ ।

त्यसैगरी पुस ३० देखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ र गछें क्षेत्रमा जात्रा हुनेछ । माघ १५ देखि १८ गतेसम्म काठमाडौँको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुरको महालक्ष्मी क्षेत्रमा जात्रा सञ्चालन हुनेछ ।

फागुनमा भक्तपुरका विभिन्न स्थानसँगै काभ्रेको साँगा र नालामा जात्रा हुनेछ । फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नालामा जात्रा सञ्चालन गरिनेछ । चैत १ र २ गते धुलिखेल, चैत ३ गते श्रीखण्डपुर तथा चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा हुनेछ ।

नवदुर्गा देवगणको जात्रा भक्तपुरको महत्त्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका रूपमा परिचित छ । विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगणले नगर तथा विभिन्न बस्तीमा पुगेर परम्परागत नाच र जात्रा प्रदर्शन गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष दसैँका अवसरमा राष्ट्रपतिसमेत दर्शनका लागि पुग्ने भक्तपुरस्थित नवदुर्गा द्योछें धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको सम्पदाका रूपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *