धनुषामा चोरीका घटनामा अधिकांश युवा संलग्न

धनुषा, ५ साउन । धनुषामा खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ ।

चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको एक तथ्याङ्कले देखाएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आर्थिक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताउनुभयो ।

युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । युवालाई कुलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको उहाँले बताउनुभयो । “उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो”, उहाँले भन्नुभयो– “अधिकांश लागुऔषध सेवनकर्ता रहेका छन् ।”

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको बताउनुभयो । राति गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचलगायत कार्य आवश्यक भएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९/८० मा चोरीका घटनामा पक्राउ परे पनि उनीहरुका विरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुपरिरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

गत आवमा मात्रै चोरी भएका दुई सय ३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयले चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा अधिकांश १७ देखि ३८ वर्ष उमेरका रहेका छन् ।