बिनान्समा इतिहासकै ठूलो साइबर आक्रमण, ६.३ अर्ब डलरको सम्पत्ति प्रभावित

काठमाडौं, १३ कात्तिक । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सले आफू इतिहासकै ठूलो साइबर आक्रमणको सिकार भएको जनाएको छ। बिहीबार भएको आक्रमणबाट करिब ६.३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको कम्पनीले जनाएको छ। चोरी भएको सम्पत्तिमध्ये ठूलो हिस्सा विभिन्न क्रिप्टो कम्पनीको सहयोगमा रोक्का गरिएको छ भने ग्राहकलाई हुने सम्पूर्ण घाटा कम्पनीले नै बेहोर्ने स्पष्ट पारेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बिनान्सका एक इन्जिनियरको ल्यापटप ह्याक गरी आक्रमणकारीले अनधिकृत रूपमा सम्पत्ति निकालेका थिए।

दुई क्रिप्टो विश्लेषक संस्थाले यस आक्रमणमा उत्तर कोरियाली ह्याकिङ समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको दाबी गरेका छन्। उक्त समूहले सन् २०२५ मा बाइबिट एक्सचेन्जबाट १.५ अर्ब डलर चोरी गरेको आरोप छ।

ब्लकचेन अनुसन्धान कम्पनी टीआरएम ल्याब्स र क्रिप्टो विश्लेषक कम्पनी चेनालिसिसले बिनान्स आक्रमणका गतिविधि उत्तर कोरियासँग सम्बन्धित अन्य साइबर आक्रमणसँग मिल्दोजुल्दो रहेको बताएका छन्। टीआरएम ल्याब्सका विश्वव्यापी नीति प्रमुख एरी रेडबोर्डले यस घटनालाई समग्र क्रिप्टो उद्योगका लागि अभूतपूर्व धक्का भनेका छन्।

यसैबीच, स्टेबलक्वाइन जारी गर्ने कम्पनी टिथर र सर्कलले घटनासँग सम्बन्धित कुल २.४ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरेको जनाएका छन्। टिथरले करिब १.६ अर्ब डलरको यूएसडीटी र सर्कलले ८० करोड डलरभन्दा बढीको यूएसडीसी रोक्का गरेको बताएका छन्।

बिनान्सकी सहप्रमुख कार्यकारी ही यीले प्रणाली पूर्ण रूपमा सुरक्षित भएको पुष्टि नभएसम्म रकम निकाल्ने सुविधा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएकी छन्। कम्पनीले अपराधीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाएको छ।

यो घटना बिनान्सको मुख्य प्लेटफर्म बिनान्स डट कममा भएको हो। अमेरिकी प्रयोगकर्तालाई लक्षित बिनान्स डट यूएस भने प्रभावित नभएको कम्पनीले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *