भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये भित्र्याइयाे
भक्तपुर, ८ साउन । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ ।
घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खःम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खःम्ये भित्र्याइएको हो ।
यसवर्ष भक्तपुर नगरपालिका–७, चोर्चा निवासी रत्नभक्त दुमरुले खःम्ये चढाउनुभएको हो । उहाँले चाङ्गुनारायण नगरपालिका बागेश्वरीबाट रु एक लाखको खःमेय् खरिद गरेर ल्याएको जानकारी दिनुभयो । दमुरुले पाँच वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गर्नुभएको थियो । तर नवदुर्गा देवीलाई खःमेय् चढाउन इच्छा व्यक्त गर्ने श्रद्धालु धेरै भएकाले पालोअनुसार दुमरुले यो वर्षमा मात्र खःमेय् चढाउने अवसर पाएका हुन् ।
दुमरुले चढाएको खःखःम्येलाई नवदुर्गा देवगणका नकीँ (मुली महिला) मङ्गलमाया वनमालाले विधिविधानअनुसार नवदुर्गा द्यःछें प्राङ्गणमा पूजाआजा गर्दै देवगृहमा भित्र्याएका थिए ।
नकीं मङ्गलमायाले नै वडादसैँको नवमीसम्म खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् । भक्तपुरमा वडादसैँको महानवमीको राति ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तिका लागि बलि दिन धार्मिक, सांस्कृतिक र ऐतिहासिकरुपले अत्यन्त महत्वपूर्ण मानिने खःम्येलाई महिषासुर राक्षसको प्रतिकका रुपमा लिइन्छ ।
खःमेय् निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, शरीरमा सात वटा चक्र भएको ठूलो मोटोघाटो हुनुपर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिनुभयो ।
खःमेय् देवगृहमा भित्र्याउनुअघि तलेजु मन्दिरका पदाधिकारीले अवलोकन गरी योग्य छ छैन निक्र्यौल गरिन्छ । त्यसपछि सोही स्थानबाट म्येलाई झिँगा र लामखुट्टेले टोक्न नसकोस् भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ । देवगृहमा भित्र्याएपछि खःमेय्लाई जसले नवदुर्गा देवगृहको किलामा बाँड्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफैँ ब्रम्हायणी पिठमा गई बलि दिइने परम्परा छ ।
खःमेय्लाई महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा छ । विधिवत्रुपमा नवदुर्गा द्यःछें भित्र्याएको खःम्येलाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ । सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरीरभरि तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पुर्याउने प्रचलन छ ।
महिषासुरको प्रतीक मानिएको खःमेय्लाई दौडाएर ब्रम्हायणी पुर्याउने परम्परालाई स्थानीय भाषामा खःमेय् व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा)का रुपमा लिइन्छ जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाईने एक महत्वपूर्ण जात्रा हो ।
