देशभरका फार्मेसीमा अनुगमन सुरु
काठमाडौं, ८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ ।
औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका लागि अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।
अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ललितपुरस्थित टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गर्नुभयो ।
अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको विल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।
फार्मेसीको निरीक्षणपछि स्वास्थ्यमन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिनेछ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिनुभयो ।