चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोद्धार सुरू

चितवन, ११ साउन । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।

यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

उहाँले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिनुभयो । “गढीको पुरानोस्वरुप बिग्रँदैन”, उहाँले भन्नुभयो, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” उहाँले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताउनुभयो ।

गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताउनुभयो । उहाँले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताउनुभयो ।

पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ ।

स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँले दैनिक सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिनुभयो । यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन् । उहाँका अनुसार गढीमा मासिक रु एक लाखको टिकट बिक्री भएको छ । गढीमा घुम्न आउनेबाट पालिकाले रु ५० शुल्क लिने गरेको छ ।

इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो । तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए ।