हिमाली हिरा यार्सा बेचेर करोडाैं आम्दानी
मुगु, १२ साउन । हिमाली जिल्लामा पाइने गरिबको हिरा भनेर चिनिने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् ।
जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् ।
देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडाैं रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो ।
यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि सङ्कलकहरु आएको यार्सा सङ्कलन छोर्तेन लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन् । असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उहाँको भनाइ थियो ।
छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर रू साढे चार लाख आम्दानी गरेका बताउनुभयो । गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले रू दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै रू ३० देखि ५० लाखसम्म रकम भित्रिएको उहाँले अनुमान गर्नुभयो ।
वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा रू एक करोडभन्दा बढी आम्दानी भएको छ । उहाँका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् ।
व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन् । यार्सा व्यापारी पाटनमै पुगेर यार्सा सङ्कलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न सङ्कलकलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन् ।
पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी रू आठ सय र मध्यमलाई प्रतिबुटी रू चार सय ५० सम्म दिएका सावतले बताउनुभयो । उहाँका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ ।
किम्री गाउँका कार्मा सेराप लामाले भन्नुभयो, “भगवान्ले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन् । यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो ।
यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ । खेतीपाती राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ । “हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र ?”, मह गाउँका राप्के तामाङले भन्नुभयो, “हिउँ÷पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ ।
पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो ।”
यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।