लेखा समितिले उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारलाई गरायो ध्यानाकर्षण
काठमाडौं, १४ साउन । एक क्वीन्टल बढी सुन तस्करी प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिले उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सजिलै सुन बाहिरिएकाे भन्दै उक्त विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई ध्यानाकर्षण गराएको हाे ।
आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।
बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।