वर्षौँ बित्दापनि सम्पन्न भएन राष्ट्रिय गौरवकाे आयोजना
बागलुङ, १६ साउन । वर्षौँ बित्दापनि बागलुङका राष्ट्रिय गौरवकाे आयोजना सम्पन्न हुन सकेकाे छैन ।
बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् ।
बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ ।
यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ । यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छवटा पालिका जोडिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला सहरबाट गाडी आउँदैनन् ।
सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२–१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले रु ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन ।
नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
उहाँले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताउनुभयो । विसं २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ । समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उहाँको भनाइ छ । कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उहाँले बताउनुभयो ।
“करिडोर दुई–तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङबाट बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन”, उपप्रमुख शर्माले भन्नुभयो, “करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ ।”
मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन । ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताउनुभयो । यो सडकमा हरेक दिन दर्जनौँ साना–ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उहाँको भनाइ थियो ।
ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताउनुभयो । ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो ।