संसद् अवरोध हटाउन एमाले सहमत, पहिला गृहमन्त्रीको जवाफ सुन्ने
काठमाडौं, २३ साउन । एक क्विन्टल भन्दा बढीकाे सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले संघीय संसदका दुवै सदनमा देखिएको अवरोध हटाउन सहमत भएको हो।
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध गर्ने बताउनुभयाे ।
‘सत्ता पक्षले गृह मन्त्रीले जवाफ दिन खोज्दा पनि एमालेले अवरोध गरिरहेको छ भनेर भ्रम छर्न खोजिरहेको छ’‚ बर्तौलाले भन्नुभयाे, ‘त्यसैले हामी पहिला गृह मन्त्रीको जवाफ सुन्छौं। त्यसमा उच्चस्तरीय समिति गठन गर्ने विषय आयो भने हामी स्वागत गर्छौं‚ बैठक सहजै अघि बढ्छ। नभए हामी अवरोध कायम राख्छौं।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल भन्दा बढीकाे सुन प्रकरणमा छानबिन समिति बनाउन अडान लिंदै दुवै सदनकाे बैठक गत १२ साउनदेखि अवराेध गर्दै आइरहेकाे थियाे ।