संखुवासभाकाे कारागारमा भाग्न लागेका दुई कैदीबन्दीको संकास्पद मृत्यु

संखुवासभा, २४ साउन । संखुवासभाकाे जिल्ला कारागारमा दुई कैदीबन्दीको संकास्पद मृत्यु भएको छ।

बुधबार बिहान २ बजे जेलबाट भाग्न लागेका दुई कैदीबन्दीको संकास्पद मृत्यु भएको हाे । कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो।

कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा देखिएकाे सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। हाल कारागारमा १३८ कैदीबन्दी छन्। दुई कैदी अचेत भेटिएको कोठामा ३८ जना कैदीबन्दी थिए ।

घटना शंकास्पद् देखिएकाले छानबिनका लागि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रहरीका अनुसार तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *