खानीमा पहिरो जाँदा म्यान्मारमा २५ जना बेपत्ता
एजेन्सी, २९ साउन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएका छन् ।
सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो ।
अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन् ।
एक उद्धारकर्मीले एएफपीसँग भनेकाे छ करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ । उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए ।
खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्टाउने आशामा केही कामदार आफ्नो शरिरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए ।
अर्का एक उद्धारकर्मीले एएफपीसँग कुरा गर्दै दोस्रो पटक पहिरो खस्ने डरका बाबजुद पनि उद्धारको प्रयास जारी रहेको पुष्टि गरेका छन् ।
वर्षायाममा खानी सञ्चालन बन्द गरिएको भए पनि पहिरोमा फसेका स्थानीयले सहजै धनी बन्ने लालसामा खानीभित्र गएको वेला दुर्घटना भएको हुनसक्ने उनले बताए ।