संसदमा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित, अर्को वैठक भदौ ३ गते बस्ने
काठमाडौं, २९ साउन । क्विन्टल सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठनकाे माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजकाे संसद बैठक पनि अवरोध गरेकाे छ ।
प्रतिनिधि सभाको बैठक चलिरहँदा एमालेका सांसदहरुले उठेर छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरे भदौ ३ गते १ बजेसम्मको लागि स्थगित गर्नुभयाे ।
सुन प्रकरणले सदन तातेपछि समिति गठनको लागि सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्तामा बस्नुभए पनि कुरा मिल्न सकेको छैन ।
नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो ।