राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं, ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएकाे छ ।

बुधबार शीतलनिवासमा उहाँहरूले संसद्‌मा उत्पन्न गतिरोधलगायत विषयमा छलफल गर्नुभएकाे हाे ।

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएकाे छ ।

राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न केहीदिन अघि शीतलनिवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गर्नुभएकाे थियाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।