बाजुरामा बढ्याे ‘स्क्रब टाइफस’का बिरामी

बाजुरा, ३२ साउन । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।

मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालले जनाएको छ ।
उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा नौ स्क्रब टाइफस, एक मलेरिया र दुई डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् । “स्क्रब टाइफस एक सरुवा रोग हो । यो जुम्राजस्तै एक प्रजातिले टोकेपछि लाग्ने गर्छ । यो रोग लागेका बिरामीलाई ज्वरो आउने, ढाड दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ”, अस्पतालका निमित्त कार्यालय प्रमुख डा मिलन जोशीले भन्नुभयो ।

उहाँले मलेरिया र डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले गर्मीयामका घरआँगन अगाडि फोहर नगर्ने, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्ने र पानी जम्न नदिने, लामो लुगा लगाउने, राति सुत्दा झुल लगाएर मात्रै सुत्नेलगायत सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै स्क्रब टाइफसबाट बच्न विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने डा जोशीको भनाइ थियो ।

डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुनिनेलगायत लक्षण देखापर्नेे स्वास्थ्यकर्मीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *