तनहुँमा रु १८ लाखको अङ्गुर उत्पादन

तनहुँ, ७ भदौ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ ।

खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गर्नुभएको हो । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अङ्गुर खेती थालनी गर्नुभएको थियो ।

‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । “नौ हजार किलोग्राम अङ्गुर उत्पादन भएको छ, उहाँले भन्नुभयो,“बजारको ‘मूल्य अनुरुप प्रतिकिलो रु दुई सयका दरले उक्त मूल्यको अङ्गुर उत्पादन भएको हो ।”उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उहाँले बताउनुभयो ।

कम्पनीले वार्षिक १० हजार किलो अङ्गुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उहाँले बताउनुभयो । जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ,उहाँले भन्नुभयो “कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।”

धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा तीस हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरीे वाइन उत्पादन गर्दै आएको छ । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल रु एक हजार दुई सयमा बिक्री गरिरहेको छ ।

‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ, उहाँले भन्नुभयो “यसले पनि अङ्गुरखेतीलाई प्रोत्साहन गरेको छ ।” वर्षामा एक पटक अङ्गुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ । फार्ममा विभिन्न ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अङ्गुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताउनुभयो ।

फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अङ्गुर रहेको छ । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताउनुभयो । फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ ।

धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्ष अन्तर्गत १२ फार्मपर्न सफल भई रु ५५ लाख अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बुताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *