गोरखामा गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

गोरखा, १० भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्ने गरेकाे छ ।
गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । भिडियो एक्स–रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने उहाँले जानकारी दिनुभयो ।
एम्बुलेन्ससहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भवस्थाको परीक्षण गर्न टोल–टोलमा पुग्ने गरेका छन् ।
गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट पनि नियमित सेवा उपलब्ध गराइँदै आइएको छ ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराका अनुसार गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको हाे ।