कांग्रेस सहमहामन्त्री यादवकाे आइसियुमा राखेर उपचार हुँदै

काठमाडाैं, २० भदाै । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवकाे आइसियुमा राखेर उपचार भइरहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरले आज साँझ एक विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवकाे चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जनाएकाे छ ।

सहमहामन्त्री यादवलाई सवा २ बजे अस्पतालमा पुर्‍याइएको थियो। उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। सहमहामन्त्री यादवकाे आन्तरिक चोट नदेखिएको अस्पतालले जनाएकाे छ ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबाबु सापकोटाले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। प्रहरीले सापकोटालाई तत्कालै पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान गरिरहेको छ।