‘निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित हुन्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं, २२ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने बताउनुभएकाे छ ।

बीसौँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, बिहीबार मात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूसंगकाे सहमतिबाट संसद्ले छिटै पारित गर्नेछ ।

प्रधानमन्त्री दाहालले भन्नुभयाे, ‘देशका ठूला राजनीतिक परिवर्तनमा तपाईं निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ, त्यसका निम्ति तपाईंहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।’

राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती हामीसामु आएकाे छ त्यसैले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले जनतामा भएको निराशा चिर्दै आशाको नयाँ रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने अभियानमा निजामती कर्मचारीको मन, बचन र कर्मले दृढतापूर्वक क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयाे । राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रुपान्तरण गर्न विसं २०१३ भदौ २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसात् गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।