पहिरोले मोटरसाइकल पछाडि सवार एक युवकको मृत्यु
डडेल्धुरा, २४ भदौ । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोकाे ढुङ्गाले लागेर एक युवकको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ढुङ्गाले लागेर मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरकोे मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो ।
गम्भीर घाइते ऐरलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।
टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।