नेतृत्वमा केपी ओली र विचारमा जबजको विकल्प छैन, त्यसैले एमालेमा गुट छैनः राधाकृष्ण कंडेल (अन्तर्वार्ता)

राधाकृष्ण कंडेल,
नेकपा (एमाले) अध्यक्ष, लुम्बिनी प्रदेश

केही दिन अघि मात्रै नेकपा (एमाले)ले लुम्बिनी प्रदेशको प्रथम अधिवेश सम्पन्न गरेको छ । त्यो अधिवेशनबाट अध्यक्षमा निर्वाचित राधाकृष्ण कंडेलसँग आइतबार दिउँसो एमाले मुख्यालय च्यासलमा भेटभयो । भर्खरै निर्वाचनबाट अध्यक्ष निर्वाचित कंडेल मुख्यालयमा पनि निकै व्यस्त देखिनुहुन्थ्यो । बधाइको ओइरो मुख्यालयमा पनि लागिरहेको थियो । उहाँ असिन–पसिन हुँदै कहिले मुख्यालेको खाजघरतिर त कहिले गोलघरतिर अनि कहिले तुलसीलाल अमात्यको सालिक वरपर देखिनुहुन्थ्यो । परिचित हँसिलो मुहारमा उहाँ करीब डेढ घण्टा जति भेटघाटमै व्यस्त हुनुहुभयो ।

त्यसपछि मैत्रिन्युजसँग तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानकै हरियो दुवोले सुन्दर देखिएको चौरमा केही कुराकानी गर्नुभयो । उहाँले कुराकानीकै सन्र्दभमा केही समय आफ्नो विगतबारे पनि खोतलखातल गर्नुभयो । उहाँ नेकपा (माले) काल अर्थात ०३५–०३६ सालतिर गाउँ पार्टी सक्रिय दलका माध्ययमबाट कम्युनिष्ट आन्दोलनमा होमिदै आउनु भएको रहेछ । अनेरास्ववियुको जिल्ला अञ्चल हुँदै केन्द्रमा पनि राजनीति गर्नुभएको इतिहास समेत उहाँसँग रहेछ ।

उहाँ नेकपा (एमाले) बनेपछि जिल्ला कमिटीको सदस्य, उपसचिव, सचिव हुँदै अध्यक्षसम्मको नेतृत्वमा पुग्नु भएको रहेछ । राष्ट्रिय परिषद् सदस्य र संविधानसभाको सदस्यसम्म भएको अनुभव उहाँसँग रहेछ । दसौं राष्ट्रिय महाधिवेशनपछि नेकपा (एमाले)ले उहाँलाई लुम्बिनी प्रदेशको संस्थापक अध्यक्षको जिम्मेवारी दिएको रहेछ । अहिले अधिवेशनबाट अध्यक्ष बन्नुभएका कंडेलसँगको कुराकानीः

संघर्षबाटै नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट तपाईं अध्यक्षमा निर्वाचित हुनुभयो । सर्वप्रथम त तपाईँलाई बधाई छ ।

धन्यवाद ।

लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भयो । तपाईं अध्यक्ष निर्वाचित हुनुभयो । समग्रम अधिवेशनलाई कसरी लिनुभयो ?

म चुनाव लडेर विजयी भएको यो नै पहिलो चिर्वाचन होइन । म यो भन्दा अघि नै पाल्पा जिल्लाबाट तीन पटक पार्टी प्रमुखको नेतृत्व गरेको अनुभव छ । त्यहाँ आन्तरिक प्रतिस्पर्धाबाट निर्वाचन नै लडेर म पार्टी प्रमुख भएको हुँ । त्यसैले अहिले पनि प्रतिस्पर्धाबाट म नेकपा (एमाले)को लुम्बिनी प्रदेशको अध्यक्ष भएको छु ।

मलाई के लाग्छ भने यो आन्तरिक प्रतिस्पर्धाको विषय हो । यसलाई ठूलो र भयंकर रुपमा लिनुपर्ने केही छैन । निर्वाचनमा भाग लिने सबै प्रतिनिधि साथीहरु पार्टीकै साथीहरु हुनुहुन्थ्यो । त्यसैले अहिले मैले जितेपछि पनि सबैसँग सल्लाह गरेर काम गर्ने कुरा नै महत्वपूर्ण हुन्छ ।

प्रतिस्पर्धी साथीहरुले निर्वाचनको दौरानमा सँगै प्रचारमा हिड्ने भोट माग्ने र निर्वाचनको परिणामपछि पनि अँगालो हालेर सौहार्दपूर्ण वातावरणमा हामीले तस्बिरहरु खिचाएको सायद तपाईँहरुले पनि देख्नुभयो होला भन्ने लागेको छ । निर्वाचन सकिएपछि उहाँले मलाई बधाई दिनुभयो । मैले धन्यवाद भने । अहिले पनि हामी यहि प्रक्रियाबाट अघि बढेका छौँ ।

सबैले पार्टीका नीति, विचार, कार्यक्रम र सिद्धान्तलाई मान्नुपर्छ । त्यतिमात्रै होइन हामी सबैले पार्टी नेतृत्वलाई मान्दै अघि बढ्नुपर्छ । हामीलाई पार्टीलाई कमजोर बनाउने छुट छैन । पार्टीलाई अझ शसक्त बनाएर अघि बढ्नुपर्छ । पार्टीलाई थप व्यवस्थित र चलायमान बनाउने जिम्मेवारी हरेक पार्टी सदस्य र कार्यकर्ताको काँधमा रहेको हुन्छ । हामी त्यहि अठोटका साथ अघि बढ्छौँ । मेरो पनि पार्टीलाई थप सुदृढ र सशक्त बनाउनेतर्फ नै केन्द्रित हुनेछ ।

निर्वाचनको परिणामपछिको तपाईँहरु दुई जनाको तस्बिर हेर्ने हो भने तपाईँको मुहारमा जितको घमण्ड र हरि रिजालको मुहारमा हारको पीडा देखिदैँनथ्यो । तर, बाहिर लुम्बिनीको अधिवेशनबाट दुई गुटको विरुवा एमालेले रोप्यो भनेर हल्ला गरिएको छ । यो सत्य हो जस्तो लाग्छ ?

म निर्वाचित भएपछि सार्वजनिक गरेको विज्ञप्तिमा नै गुट, उपगुट आदिका पछि लागेर हिँड्नुको कुनै अर्थ छैन भनेर भनिसकेको छु । हामीले पार्टीका दृष्टिकोणहरु, विचारहरु र पार्टीको नेतृत्वलाई बोकेर हिँड्ने हो । यसो भयो भने मात्रै पार्टी बन्नसक्छ ।

म यहि मूल्य–मान्यतालाई विश्वास गरेर हिँडेको व्यक्ति हुँ । म पहिला पनि त्यस्तो कुनै पनि गुट–उपगुटको पछि लाग्ने गरेको थिइँन । अब पनि गुट,उपगुटमा होइन पार्टीको निरन्तर काममा संलग्न हुन्छु । त्यसैमा अरु साथीहरुलाई पनि समाहित गरेर अघि बढ्छु ।

पार्टीका शक्तिशाली नेताहरु रहेको प्रदेश पनि हो, लुम्बिनी प्रदेश । त्यसैले त्यो प्रदेशबाट गुट जन्मियो भने त्यसले देशव्यापिरुपमा असर गर्छ भनेर पनि चिन्ता व्यक्त गर्न थालिएको छ । नढाँटी भन्दा लुम्बिनीले त्यस्तो सन्देश दिएको हो ?

सबै भन्दा पहिलो कुरा गुट जन्मिनका लागि विचारको भिन्नता हुनुपर्छ । विचार विनाको गुट हुँदैन । सामान्य मत–मतान्तर मात्रै हो । विचार र दृष्टिकोणमै फरक पर्यो भने मात्रै गुट फरक हुने हो । दुई–चार जना यताउता हुने कुरा जहाँ पनि हुन्छ ।

व्यक्तिगत कारणले सामान्य यताउता हुने कुरा भयो । त्यो ठूलो विषय होइन र त्यसलाई ठूलो विषय बनाउनु पनि हुँदैन । हामीले मूल नेतृत्वलाई स्वीकार गर्ने हो । हामी सबै जनताको बहुदलीय जनवादको मार्गदर्शन र केपी ओलीको नेतृत्वमा अघि बढेका छौँ । अहिले केपी ओलीको विकल्प कोही पनि छैन र अहिले तत्काल हुन पनि सक्दैन । त्यसैले अहिले कसरी गुट हुन सक्छ ? विकल्प भए न गुट हुने हो अहिले विकल्प नै छैन भनेपछि गुट हुँदैन ।

थोरै मतले विजयी हुनुभयो । अब तपाईँको कार्यकाल कसरी अघि बढ्छ ?

म अहिले लुम्बिनी प्रदेशको अध्यक्ष भएँ । अब अध्यक्ष भएँ भनेर एकलौटी ढंगले काम गर्ने कुरा हुन्न । साथीहरुलाई बोलाउने, छलफल गर्ने र साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै अघि बढ्ने हो । लुम्बिनी प्रदेशका सबै एमालेको भावनाको प्रतिनिधित्व अब मैले गर्नुपर्छ ।

तपाईँ संस्थापक अध्यक्ष र पहिलो अधिवेशनबाट पनि अध्यक्ष बन्ने अवसर प्राप्त गर्नुभयो । अहिले नयाँ दल र स्वतन्त्रका नाममा राजनीति मडारिरहेको छ । एमालेलाई थप शक्तिशाली बनाउन केही योजना बनाउनु भएको छ ?

पहिलो कुरा विगतका निर्वाचनमा पनि एमाले लुम्बिनी प्रदेशमा मतको हिसावले पहिलो पार्टी हो । यो पार्टीलाई अझै शसक्त बनाएर अघि लैजानु पर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले हामी जनताका बिचमा जनताका कुरा लिएर हामी जान्छौँ ।

अहिले मुलुकमा भैरहेका शोषण, दमन र अत्याचारका कुराबारे हामी जनतालाई बुझाउन उनीहरुको घरदैलोसम्म पुग्छौँ । अहिलेको सरकारले गरेका सेटिङबारे जनतालाई बुझाउँछौँ । युवाको विदेश पलायनलाई रोख्ने योजनाका बारेमा हामी मिहीन ढंगले छलफल गर्छौ र विदेश पलायन रोक्ने योजनाहरु अघि बढाउँछौँ । जनतामा निरासा बढ्दै गैरहेको छ ।

यी कुरासहित हामी जनताको माझमा जान्छौँ र जनताको मुहारमा आशा भर्दै परिवर्तनको आन्दोलन कसरी अघि बढाउने योजनाबद्ध ढंगले अघि बढ्छौँ ।
एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक काम र अहिलेको गठबन्धनले देशमा दिन नसकेको सुशासनका बारेमा पनि जनतालाई बुझाउने योजनासहित सबै जिल्ला, पालिका र वडासम्म पुग्छौँ । त्योसँगै यो वर्ष भित्रै सबै पालिका र वडा र टोल कमिटीलाई पुर्नंगठन गर्दै पार्टीलाई चुस्तदुरुस्त ढंगले अघि बढाउँछौँ ।

सात प्रदेश र उपत्यका मध्ये लुम्बिनी प्रदेशको अधिवेशन निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भयो । अन्य प्रदेशलाई के सुझाव दिनुहुन्छ ?

आन्तरिक लोकतन्त्रमा विश्वास गर्नेहरुले, जनताको बहुदलीय जनबादप्रति विश्वास गर्नेहरुले कामबाटै श्रेष्ठता हाँसिल गर्नुपर्छ भन्ने मेरो मान्यता छ । प्रष्ट रुपमा भन्दा आन्तरिक लोकतन्त्रलाई सहजरुपमा लिने बानी बसाल्नुपर्छ । सबै भन्दा ठूलो भनेको कार्यकर्ता हो । कार्यकर्ताले हाम्रा कमजोरी रहेछन् भने सच्चिने मौका दिनेछन् ।

तपाईँको पार्टी र नेतृत्वमा केही कमजोरीहरु देख्नु भएको छ ?

हामीले सबै भन्दा पहिलो कुरा हाम्रो नीति, सिद्धान्त, विचार र कार्यक्रमलाई पच्छ्याएर हिँड्नुपर्छ । त्यो भयो भने पुग्छ ।

तपाईँलाई मत दिने र नदिने लुम्बिनीका सबै कार्यकर्तालाई के भन्नुहुन्छ ?

सबैलाई धन्यवाद । सबै सहभागी हुनुभयो । आ–आफ्नो विचार लागेको ठाउँमा मतदान गर्नुभयो । त्यो तपाईँहरुको अधिकारको उच्च सम्मान गर्छु ।

गोप्य मतदान भयो । कतिपय त तपाईँलाई थाहा भएन । तपाईँले थाहा पाउने गरी असहयोग गर्नेलाई तपाईँको कार्यकालमा देखिने खालको असहयोग होला कि ?

हुँदैन, किन हुनु ? उहाँहरु सबै पार्टीको इमान्दार कार्यकर्ता हो । मात्रै एउटा प्रक्रियामा जाँदा उहाँहरु सहभागी हुनुभयो । त्यसलाई सहज रुपमा लिनुपर्छ । ‘इगो’ का रुपमा लिनुहुँदैन । मेरो इतिहास पनि सबैलाई मिलाएर लैजाने नै छ । म त्यो मेरो इतिहासलाई कमजोर बनाउँदिन ।