नेम्वाङको निधनमा बिहीबार शोक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडाैं, २६ भदाै । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्।

नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेम्वाङको अन्तिम संस्कारकाे दिन राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएकाे छ ।

बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। उहाँको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ।