वीरगञ्जको बाल सुधारगृहमा रातभर झडप, ११ बालक र ३ प्रहरी घाइते

पर्सा, २७ भदाै । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा रातभर झडप भएकाे छ ।

वीरगञ्ज महानगरपालिका-४ विर्तामा रहेको बाल सुधार गृहमा मंगलबार साँझ दुई समूहबीच झगडा भएपछि स्थिति तनावपूर्ण बनेको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाका अनुसार भक्तपुर सुधार गृहबाट वीरगञ्ज पठाइएको समूह र त्यहीँ रहेको समूहबीच मंगलबार साँझ झगडा भएको थियो।

दुई समूहबीच भएकाे झगडाले सुधारगृह भित्र स्थिति तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो। तर, उनीहरू प्रहरीमाथी नै ढुंगामुढामा उत्रिएकाे डिएसपी थापाले जानकारी दिनुभयाे ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुधार गृहका ११ जना र प्रहरी तीन जना घाइते भएको छ डिएसपी थापाले भन्नुभयाे । अहिले पनि स्थिति नियन्त्रणमा नआइसकेकाले आफू फिल्डमै रहेको उहाँले बताउनुभयाे ।

भक्तपुर बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये १८ जनालाई वीरगञ्ज स्थानान्तरण गरिएको थियो।