बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

खोटाङ, २७ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङका ३० महिलाहरू बाँसका घरायसी सामग्री बनाउन व्यस्त भएका छन्।

बाम्राङबासी महिलालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो ।

बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।

बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएकाे हाे ।

यही भदौ १० गतेदेखि सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ । तालिममा सहभागी महिला आफै बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफै चोया काढ्ने गर्छन् ।

बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिक्नुभएकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बन्नुभएको छ । केन्द्रबाट आउनुभएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर जानुभएपछि अहिले प्रेलिनाले सिकाउँदै हुनुहुन्छ । तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आउनुभएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउनुहुन्छ ।

“पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उहाँले भन्नुभयो, “गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।”

तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन् । तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घकी कोषाध्यक्ष सञ्जु खत्री (बस्नेत)ले बताउनुभयो ।

“सामग्रीको बजारीकरण सङ्घले गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्न सिकाउने तयारी छ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।”
दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ । यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ । यसअघि महिला उद्यमी सङ्घले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *