सुवास छर्दै आर्यघाटबाट धुँवासँगै अलप बेदाग सुवास (भिडियो रिपोर्ट)

काठमाडौं, २८ भदौ । भदौको अन्तिम हप्ताको धमिलो वागमती नदी गौरीघाट हुँदै गुजेश्वरी र किराँतेश्वर महादेवलाई देव्रे पारेर मृगस्थलीको तल ब्रम्हनाल हुँदै आफ्नै वेगमा बगिरहेको थियो । अनि हिन्दुहरुको आस्थाको पवित्रस्थल पशुपतिनाथ दिनहुँ दर्शनका लागि आउने भक्तालु अनि दिनहुँ ब्रह्मनालमा पवित्र जल खुवाउन ल्याउने लाशहरुलाई अटल बनेर हेरिरहेका थिए ।

आज कुसेऔंसी, पवित्र तिर्थस्थल वागमती किनारमा आफ्ना पितृहरुको स्वर्गवासको कामना गर्दै पीण्ड–तर्पन दिने र श्राद्ध गर्नेहरुको भिड वागमतीको एक किनारमा त्यत्तिकै देखिन्थ्यो । अनि अर्कातिरचाँहि हरेक मानिसको अन्तिम सत्य मानिने आर्यघाट अर्थात चितामा केही लाशहरु जलिरहेका, केही घाटहरुमा जलाउनका लागि चिता बन्दै गरेका अनि केही खाली घाटहरुमा छरिएका चामल चुच्चाले टिपेर परेवाहरु आफ्नै तालमा आहारा भर्दै गरेका र केही घाटहरुमा भने लाश जलेर धुँवा बनिरहेका कारुण दृष्यहरु देखिन्थे ।

त्यहि कारुण दृष्यहरुको भिडमा थियो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको लास पनि । काठमाडौं सुनसान बनेका बेला तीन दिन अघि मध्यरातमा यो धर्तीबाट अलप हुनुभएका मृदुभाषी नेम्वाङको शवलाई पशुपतिनाथको ठ्याक्कै तल ब्रह्मनालमा तकिया बनाएर राखिएको थियो । आफ्नो बेदाग छविलाई जिवित राख्दै काठमाडौँ मस्त निद्रामा रहेका बेला मध्यरातमा कहिल्यै नउठ्ने गरी अस्ताएका नेम्वाङको शवलाई मध्यान्ह ११ बजे पशुपति आर्यघाट ल्याउने खबरसँगै मानवसागर त्यहि ओर्लिएको थियो ।

जनगायक स्वर्गीय जेबी टुहुरेको कालजयी गीत ‘मृत्यु पनि मान्छे पिच्छे फरक हुँदोरहेछ ! जनताको छोरो मर्दा देशै रुँदो रहेछ’ भन्ने गीत जस्तै उहाँको लाशमा छोराहरुले दागबत्ती दिनु अघिदेखि नै पशुपति वरपरको भीड थामिनसक्नु बनेको थियो । सबैलालाई चक्मा दिदैँ बेगाद छविका नेम्वाङको महाप्रस्थानपछिको अन्तिम संस्कारका दृष्यलाई नजिकैबाट नियाल्न मृगस्थलीका डाँडा, पाखा र रुखमा समेत बसेर नियालिरहेको दृष्य त्यहाँ देखिन्थ्यो ।

पशुपतिनाथ मन्दिर परिसरको वागमती किनारको भीड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको दृष्यहरु पनि त्यहाँ देखिन्थे । मलिन अनुहारसहित त्यहाँ उपस्थित हजारौँको भीडले नेम्वाङको बेदाग छविमाथिको आस्था हो भन्ने प्रमाणित गरिदिन्थ्यो । धेरैका लागि अपत्यारिलो खबर बनेर अस्ताएका नेम्वाङलाई दाहसंस्कार अघि नेपाली सेना तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । हिन्दू र लिम्बू संस्कार अनुसार अन्त्येष्टि गरिएको नेम्वाङको शवमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । दागबत्ती दिएपछि नेपाली सेनाको टोलीले उहाँको सम्मानमा शोक धुन बजाएको थियो ।

उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गर्नुभएको थियो ।

अन्तिम संस्कार अघि एमाले मुख्यालयमा दुई दिन उहाँको शव राखिएको थियो । त्यतिबेला पनि एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । लोकतान्त्रिक संविधान निर्माणमा अमूल्य योगदान गर्नुभएका मृदुभाषी, विनम्र, शालीन सुवासको अन्तिम विदाई गर्दै गर्दा नेताहरु भावुक बनेका थिए ।

अन्तिम श्रद्धाञ्जलिका लागि प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्र्ेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, अन्य पूर्वप्रधानमन्त्रीहरु, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख ईन्दिरा राना, मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशसरण महतलगायत पनि आर्यघाट पुग्नु भएको थियो ।

एमालेका उपाध्यक्षसमेत रहनु भएका नेम्वाङको अन्तिम विदाई गर्न एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली,पृथ्वी सुब्वा गुरुङ, विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायत पनि आर्यघाट पुग्नु भएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *