सुवासको सम्झनामा ‘सुवास र संविधान’प्रवचन, कस्ले के भने ? (भिडियो रिपोर्ट)

काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ काठमाडौं सुनसान बनेका बेला मध्यरातमा यो धर्तीबाट अलप हुनुभयो आज सातौँ दिन । नेम्वाङको महाप्रस्थानको सातौं दिनको अवसर पारेर नेकपा (एमाले) ले आज एमाले मुख्यालयमा उहाँको सम्झनामा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो भने नेम्वाङकी धर्मपत्नी र उहाँको परिवारको पनि उपस्थिति रहेको थियो । विगतका दिनहरुमा एमालेले मुख्यालयमा आयोजना गर्ने कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङ अध्यक्ष ओलीकै लहरमा मञ्चमा सँगै देखिनुहुन्थ्यो । तर, आज आयोजित त्यो कार्यक्रममा त्यो दृष्य देखिएन ।
बरु अध्यक्ष ओलीका छेउमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल देखिनुभयो । नेकपा विभाजनपछि संभवत पहिलो पटक एमाले मुख्यालय पुग्नु भएका खनाल र एमालेका वर्तमान अध्यक्ष ओलीलाई उनै नेम्वाङको सम्झनामा आयोजित कार्यक्रमले एउटै मञ्चमा त्यो पनि एमाले मुख्यालयमा जुटाइ दिएको थियो ।
मञ्चको अघिल्तिर एमाले अध्यक्ष ओलीसँगै खनाल हुनुहुन्थ्यो भने त्यहि लहरमा नेम्वाङकी धर्मपत्नी उहाँको परिवार अनि अन्य वक्ताहरु पनि थिए । पालैपालो वक्ताहरुले नेम्वाङको सम्झना गर्दा अघिल्लो लहरमा बस्नु भएकी नेम्वाङकी धर्मपत्नी घरिघरि भक्कानिएका कारुण दृष्यहरु त्यहाँ देखिन्थे ।
मंगलबारको एमाले मुख्यालयको मौसम पनि नेम्वाङको शोक बनाए जस्तै धुम्म बनेको थियो । नेम्वाङको सम्झनामा ‘सुवास र संविधान’ विषयक प्रवचन सुन्न एमाले मुख्यालयको तुलसीलाल स्मृति भवन र बाहिर पनि खचाखच भीड थियो । त्यहि भीडमा रहनु भएका एमाले अध्यक्ष ओली पनि ५० वर्षे सहयात्रीलाई गुमाउनु पर्दाको पीडामा देखिनुहुन्थ्यो । उहाँले नेम्वाङको सम्झना गर्दै अझै पनि नेम्वाङको मृत्यबारे पत्यार नलागेको भन्दै पोडिएममा उँभिएर सम्वोधन गर्दा नेम्वाङकी धर्मपत्नी भावुक बन्नुभएको थियो ।
ओलीले नेम्वाङसँग २०३२ सालको वैशाखमा जेलमा भेट भएको स्मरण गर्नुभयो । ओलीले संविधानसभाका अध्यक्ष समेत रहनु भएका नेम्वाङले संविधान जारी गर्न खेलेको सकारात्मक भूमिकाबारे पनि सम्झना गर्नुभयो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेम्वाङको निधनलाई अप्रत्यासित भन्दै संविधानलाई सिर्जनात्मक ढंगले लागु गर्न सकेको अवस्थामा मात्रै नेम्वाङप्रति सच्चा सम्मान हुने बताउनुभयो । एमाले महासचिव शंकर पोखरेलले नेम्वाङको साङ्गोपाङ्गो व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि नेम्वाङ असल व्यक्ति भएको चर्चा गर्नुभयो । पूर्व सभामुख समेत रहनु भएकी ओनसरी घर्तीले नेम्वाङ आफ्नो अविभावक भएको भन्दै उहाँसँग काम गर्दाका अनुभव सुनाउनुभयो ।
पूर्वराजदूत निलाम्वर आचार्यले नेम्वाङ प्रतिष्ठित र सबैले रुचाएको व्यक्ति भएको भन्दै नेपालको संविधान र लोकतन्त्रमा उहाँ सधैँ बाँचिरहने बताउनुभयो । रकम चेम्जोङ र सर्वेन्द्रनाथ शुक्लले पनि नेम्वाङको व्यक्तित्वको चर्चा गर्नुभयो । नेम्वाङको महाप्रस्थानको सातौं दिनको अवसर पारेर नेकपा (एमाले) ले आज एमाले मुख्यालयसँगै सात वटै प्रदेशमा उहाँको सम्झनामा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।