तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

तनहुँ, ९ असोज । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो ।

दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।