पाँंच हजारले गरे इन्जेनियम प्रदर्शनीको अवलोकन

भक्तपुर, २० असाेज । भक्तपुरमा भएको एकदिने नेक इन्जेनियम २०२३ प्रदर्शनीको झण्डै पाँंच हजार विद्यार्थीले अवलोकन गरेका छन् ।

भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजको आयोजनामा भएको प्रदर्शनीको भक्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न स्कुल कलेजहरुबाट आएका विद्यार्थीले अवलोकन गरेका हुन् ।

प्रदर्शनीमा आन्तरिक र बाह्य गरी एक सय भन्दा वढी स्टलहरु राखिएका थिए । प्रदर्शनीमा विशेष गरी इन्जिनियरिंग संग सम्वन्धित स्टलहरु बढी रहेका थिए । बाहिरका प्लस टु साइन्स र भित्रका स्नातक तहका इन्जिनियरिंगका विद्यार्थीले स्टल राखेका थिए ।

प्रदर्शनीमा चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित व्यवस्थापन समितिका अध्यक्षता जीवन खत्रीले गरेका थिए । त्यस अवसरमा उनले कलेजलाई देशकै उत्कृष्ट प्राविधिक कलेजको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई व्यवहारिक रुपमा बुझ्ने बनाउन प्रदर्शनीको आयोजना गरिएकाे बताए ।

प्रदर्शनी संयोजक विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता भएको जनाए । उनका अनुसार प्रदर्शनीमा ब्याच वाइज प्रोजेक्ट, ओपन प्रोजेक्ट, पोस्टर डिस्प्ले, रोबोटिक्स, पेपर ब्रिज डिजाइन, फास्टेस्ट कोडिङ प्रतियोगिता र ओपन साइन्ससहित विभिन्न प्रकारका प्रतियोगिताहरू भएका थिए ।

दस जोड दुईका विद्यार्थीहरूको लागि परियोजना प्रतियोगितासमेत भएको थियो । प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउन विजेताहरूको वढीमा ३० हजार नगदसहितको पुरस्कार वितरण गरिएको थियो ।