बुढानीलकण्ठमा २१ किलोभन्दा बढी सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक सार्वजनिक

काठमाडौं, २३ असोज । काठमाडौंको बुढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक प्रहरीले सार्वजनिक गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्। उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो।

प्रहरीले उक्त घरबाट ठोस र अर्धठोस अवस्थामा रहेको गरी कुल २१.७५० किलोग्राम सुन बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूले भाडामा लिएको उक्त घरलाई सुन प्रशोधन गर्ने स्थानका रूपमा प्रयोग गर्दै आएका थिए।

प्रहरीका अनुसार घरबाट सुन गाल्न प्रयोग गरिने मेसिनसमेत फेला परेको छ। बरामद सुनमध्ये तयारी अवस्थामा रहेका ११ वटा विस्कुट १०.९९७ किलोग्राम ठोस सुन रहेको थियो।

त्यस्तै, प्लास्टिकमा राखिएको अवस्थामा १०.७५२ किलोग्राम अर्धठोस सुन बरामद भएको प्रहरीले जनाएको छ। ठोस र अर्धठोस गरी बरामद सुनको कुल तौल २१.७५० किलोग्राम रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *