काठमाडौँ महानगरपालिकाले छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने

काठमाडौँ, २३ असोज । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ ।

महानगरपालिकाले कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सुरु गरेको हो ।

आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना रहेको कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आउँदो तीन महिनाभित्र पाँच हजार आठ सय कुकरको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना छ ।

विगतका वर्षमा पनि यस किसिमको काम गरिएको भए पनि प्रभावकारी नभएको भन्दै यस वर्ष कार्यविधि नै बनाएर काम सुरु गर्न लागिएको प्रमुख डा झाले जानकारी दिनुभयो ।

विभिन्न नौ सङ्घसंस्थाको सहकार्यमा गर्न लागिएको यो कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिने भएको छ ।

कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको छ ।