हारजितको अध्याय विगत भयो अब एउटै डुंगामा बसेर मिशन ०८४ मा लाग्ने होः कैलाश ढुंगेल (अन्तर्वार्ता)

नेकपा (एमाले) बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष कैलाश ढुंगेल एमालेमा विभाज हुन्छ । मत विभाजित छ । एमाले टुक्रा–टुक्रा हुन्छ । एमालेमा चिरा–चिरा परेको छ भनेर गरिएका प्रचारलाई गलत सावित गर्ने ढंगले अघि बढ्ने बताउनुहुन्छ । पार्टीमा विचार र नेतृत्वमा दुई ओटा प्रवृत्ति नभएको बताउनु ढुंगेल सबैलाई एकताबद्ध बनाएर लैजाने दाबी गर्नुहुन्छ । ढुंगेलसँग बागमती एमालेको आगामी योजना, एकताबद्ध एमाले, मिशन ०८४ लगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानीः

भर्खरै नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्ष निर्वाचित हुनुभयो । कस्तो महशुस गर्नुभएको छ ?

म भर्खरै बागमती प्रदेश नेकपा (एमाले)को प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको छु । १ सय ४५ सदस्यीय टीम बनेको छ । सकेसम्म अधिवेशनका प्रतिनिधिहरुले सर्वसम्मतको प्रयत्न गर्नुभयो । तर, हामीले अन्तिममा मिश्रित ढंगको प्रणाली अपनायौँ अर्थात कतै सर्वसम्मत र कतै निर्वाचन भयो । म निर्वाचनमार्फत अध्यक्ष निर्वाचित भएँ ।

म राजनीतिमा लामो समयदेखि निरन्तर आवद्ध रहँदै र सक्रिय रहँदै आएको व्यक्ति हुँ । त्यसैले मैले पार्टीलाई थप सकारत्मक ढंगले अघि बढाउनु के गर्नुपर्छ भन्ने बोध गरेको छु । म जिम्मेवारीको हिसावले पनि यो भन्दा पहिला पनि महत्वपूर्ण जिम्मेवारीहरु बहन गर्दै आएको हुँ । त्यसैले मैले यो जिम्मेवारीलाई धेरै नौलो ठानेको पनि छैन । म संगठनमा आवद्ध भएदेखि नै यो सबै भन्दा बढी समय यहि बागमतीको पार्टीमा योगदान गर्दै आएको छु ।

अब पार्टीलाई थप बलियो बनाउने भूमिका तपाईँको काँधमा आएका छ । यसलाई कसरी लिनुभएको छ नि ?

०७९ मा भएको निर्वाचनले हाम्रो पार्टीलाई उत्साहजनक परिणाम दिन सकेन । अर्को निर्वाचन नआउन्जेलसम्म यो परिणामलाई स्वीकार गर्नुको अर्को विकल्प पनि छैन । बागमतिमा एमालेको प्राप्त गरेको मत ठिकै छ । तर, सिट संख्यालाई हेर्ने हो भने सन्तोषजनतक देखिएन । बागमती मात्रै होइन समग्र देशभरीकै अवस्थालाई हेर्ने हो भने पनि हामीलाई मतदाताले निर्णय गर्ने ठाउँमा पुर्याएनन् ।

संगठन एमालेको राम्रो, प्रभाव एमालेको राम्रो अनि परिणाम किन बलियो आउन सकेन ? हामी यो कुरालाई पनि ध्यानमा राखेर अघि बढ्नु पर्ने आवश्यक छ । एमालेको बलियो संगठन र प्रभाव देखेर नै ०७९ को निर्वाचनमा सबै दलले मिलेर एमालेका विरुद्धमा गठबन्धन बनाएका थिए । उनीहरुको त्यो गठबन्धनको प्रभावले पनि हाम्रो शक्तिलाई रोक्न सकेन् यद्यपि केही कमजोर भने बनायो । हामी यो कुरालाई पनि ध्यान दिएर अघि बढ्छौँ ।

भनेपछि अवको निर्वाचनमा एमालेलाई बलशाली बनाउन तपाईँको भूमिका रहन्छ ?

निश्चय पनि एमालेलाई आगामी निर्वाचनमा बलशाली बनाउनुको हामीसँग अर्को विकल्प छैन । तर, हामीसँग चुनौति पनि धेरै छन् । यसका लागि संगठनतात्मक अराजकतालाई पनि हामीले निर्मम ढंगले समीक्षा गरेर अघि बढ्नु पर्ने छ । त्योसँगै दक्षिणपन्थी अराजकतावाद पनि हाम्रो सामू चुनौति बनेको छ । हामीले यी दुबै कुराबाट मुक्त गराउनु पर्ने छ । हामीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई आत्मसाथ गर्दै समाजवादतर्फको यात्रा तय गर्नुपर्ने चुनौति पनि हाम्रा सामू छ ।

हामीले समृद्ध नेपाल, खुशी नेपालीको नारालाई समेत आत्मसाथ गर्दै समृद्ध र सुखी बागमती प्रदेश निर्माण गर्नुपर्ने छ । त्यसका लागि प्रदेश भित्रका समस्या यी–यी हुन्, आर्थिक समस्या यी हुन्, सांगठनिक समस्या यी हुन्, बैचारिक क्षेत्रको समस्या यो छ, स्रोत–साधनका समस्या यी हुन्, बेरोजगारीको समस्या यो हो भन्ने कुराको पहिचान गर्दै राजनीतिक निर्णयले यी–यी समस्या यसरी–यसरी हल गर्न सकिन्छ भनेर योजनाबद्ध ढंगले हामी अघि बढ्छौँ । हामी अघि बढ्नुको अर्को विकल्प हामीसँग छैन । हामी विगतमा सरकारमा सहभागी भयौँ र आगामी दिनमा पनि हुने संभावनाहरु जिवित छन् । त्यसैले यी सबै कुरामा तयार गर्दै मैले मेरो टीमलाई सक्रिय बनाउँदै बागमतीको एमालेलाई अघि बढाउनु पर्ने जिम्मेवारी थपिएको महशुस गरेको छु । यहि ढंगले अहिले योजना बनाई रहेका छौँ ।

मिश्रित प्रक्रियाको चुनावी माहोलबाट तपाईँ अध्यक्ष बन्नुभयो । तपाईँ अध्यक्ष बन्दै गर्दा एमालेमा गुटको सुरुवात भयो र कैलाश ढुंगेल पनि कुनै गुटबाट अध्यक्ष निर्वाचन भएका हुन् भन्ने आरोप छ । यो आरोपलाई चिरेर मिशन ०८४ सफल बनाउनु पर्ने जिम्मेवारीलाई चाँहि कत्तिको चुनौति ठान्नुभएको छ ?

एमालेमा विभाज हुन्छ । मत विभाजित छ । एमाले टुक्रा–टुक्रा हुन्छ । एमालेमा चिरा–चिरा परेको छ भनेर जुन ढंगले प्रचार गर्ने काम भएको छ । यसमा सत्यता छैन भन्ने लाग्छ ।

दोस्रो कुरा, मैले यो पद प्राप्त गर्न पाए हुन्थ्यो । मैले त्यो जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाए हुन्थ्यो भन्ने आकांक्षा गलत होइन । लामो समय पार्टी र संगठनमा योगदान गरेका व्यक्तिले मैले यो पद प्राप्त गर्न पाए हुन्थ्यो भन्ने आकांक्षलाई धेरैले एमाले भित्रको गुट भनेर हल्ला गरिदिए । तर, त्यस्तो होइन ।

हाम्रो पार्टीमा विचार र नेतृत्वमा दुई ओटा प्रवृत्ति छैन । माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवादको विकल्पमा हाम्रो विचार छैन । त्योसँगै केपी ओलीको नेतृत्वमा रहेको एमालेमा अहिले फरक नेतृत्वको कल्पना गरिएको छैन । अहिले देशी–विदेशीले रंग–विरंगका सोँचबाट विभिन्न खाले भ्रम छर्ने काम भएको छ । त्यो भनेको एमालेलाई यसो गर्दा पो कमजोर बनाउन सकिन्छ कि ? उसो भन्दा पो कमजोर बनाउन सुकिन्छ कि ? फुटाउन पो सकिन्छ कि ? भन्ने खेती मात्रै हो । त्यो खेतीले राम्रो फसल उत्पादन गर्छ भन्ने मलाई लाग्दैन ।

तर, निर्वाचनमा फरक–फरक टीम बनेको त हो नि ?

निर्वाचनमा फरक–फरक टीम बनाएर उठाएको भन्ने कुरा निर्वाचन अवधि भरी मात्रै हो । तर, त्यहि कुरालाई एमाले भित्र विभाजनको रेखा कोरियो भनेर देखाउने प्रयत्न र प्रयासहरु त अहिले पनि भैरहेका छन् । त्यसको कुनै अर्थ छैन । त्यसपछि हामी सबै मिशन ०८४ मा कसरी गोल हान्ने भनेर हामी लागि सकेका छौँ ।

बागमती प्रदेशको निर्वाचनमा उम्मेदवार बनेका कुनै पनि कमरेडहरु अध्यक्ष कमरेड केपी ओलीले नचिनेका र माया नगरेका कोही पनि थिएनन् । म केपी ओली नजिक हुँ र मसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका सबै कमरेड पनि केपी ओली नजिककै हुनुहुन्थ्यो । त्यसैले पार्टीको जीवनको आन्तरिक लोकतन्त्रमा सहभागी हुनुभएका सबै कमरेडहरुलाई म वरपर नगरी एउटै डुंगामा राखेर पारी तार्ने कोशिस गर्छु । यस्मा कसैले देवी भाकल गरेर एमाले विभाजित हुन्छ भन्ने भ्रम नपाले हुन्छ ।

तपाईँ लामो समयदेखि नदीको बेग जस्तै पार्टीको राजनीतिमा हुनुहुन्छ । अहिले त बागमतीको नेतृत्वमा हुनुहुन्छ । अब फाटेका मनहरुलाई पनि टालेर जाने दायित्व त तपाईँको होला नि ?

अहिलेको निर्वाचनमा हार–जित भन्ने शब्द नै प्रयोग गर्न चाहन्न । त्यो पार्टीको आन्तरिक जीवनमा गरिएको लोकतन्त्रको सुन्दर नमूना मात्रै हो । स्वस्थ्य प्रतिस्पर्धा गर्छौ । प्रतिस्पर्धाबाट प्राप्त नजितालाई स्वीकार गर्दै भोलिपल्टबाट पार्टीको झण्डा बोकेर हिँड्छौँ भनेर हामीले सुरुमै प्रतिवद्धता व्यक्त गरेका थियौँ ।

रातको २ बजे चुनावी परिणाम प्राप्त भयो । त्यो २ बजे भन्दा यताको समयको हामी विभेद गर्दैनौँ । मेरो जित कृष्णजीको पनि जित हो । मैले कृष्णजीलाई जितेको होइन । कार्यकर्ताले निश्चित समयसम्मका लागि केही जिम्मेवारी मलाई बोकाएका हुन् । म यस्तलाई जित–हार भन्दिन् । उहाँहरुले प्रतिस्पर्धामा कार्यकर्ताको अलिक कम भोट प्राप्त गर्नुभयो । यो भनेर उहाँहरुलाई छाड्ने भन्ने होइन एउटै डुंगामा राखेर पारी तार्ने हो ।

निर्वाचनपछि संगठन सुदृढिकरणका काम के–के भैरहेका छन् नि ?

प्रदेश अधिवेशन सकियो । अब हामी जिल्ला अधिवेशनमा जान्छौँ । जिल्ला अधिवेशनले धेरै समस्याहरुलाई निरुपण गर्ने छ । त्यहाँ बाँकी रहेका समस्यालाई हामीले पालिका अधिवेशनमा गएर निरुपण गर्ने छौँ । त्यहाँ पनि बाँकी रहेका समस्यालाई हामीले वडातहसम्म पुगेर हल गर्ने छौँ । हामी पार्टीका सबै क्षेत्रलाई चलाएमान बनाएर आवश्यकता अनुसारको जिम्मेवारी दिएर अघि बढ्छौँ ।

म मेरो कार्यकालभरी यो वा त्यो भनेर भेदभाव गर्ने छैन । त्यो मेरो शैली, व्यवहार र क्रियाकलापमा पनि देखिने छैन । तीन वटा महानगर रहेको बागमती सहरी मनोविज्ञान अध्याधिक भएको प्रदेश हो । सहरी मनोविज्ञान असाध्यै अस्थिर हुन्छ । यो अस्थिर मनोविज्ञानका मतदातालाई स्थिर राख्नु सबै भन्दा बढी चुनौति हुन्छ ।

अहिले पनि बागमती प्रदेश हेर्ने हो भने ०७९ को निर्वाचनमा एमालेले ३ क्षेत्रमा मात्रै विजयी हात पारेको छ । मिशन ०८४ लाई सफल बनाउन यी कुरालाई पनि ध्यान दिनुभएको छ ?

बागमती प्रदेश अरु प्रदेश भन्दा पृथक छ । यो प्रदेश भित्रको पनि प्रदेश हो । संघीय र प्रदेश दुबै राजधानी भएको प्रदेश पनि बागमती हो । यहाँ संभावना र समस्याका चाङ दुबै निकै ठूलाठूला छन् । दुबै समस्या र संभावनालाई समन्वय गरेर अघि बढ्नुको अर्को विकल्प छैन । त्यो हामी योजनाबद्ध ढंगले अघि बढ्छौँ । हामी सहर भित्रको मनोविज्ञानलाई बुझेर कार्यक्रम बनाउँछौँ ।

आज भन्दा आठ–दश वर्ष अघिसम्म पनि राजनीतिलाई बुझ्ने मनोविज्ञान र अहिलेको मनोविज्ञान फरक छ । अहिलेको युवापुस्ता फरक संभावनाको खोजीमा दौडिरहेको छ । यस्तो अवस्थामा अब पुरानै पाराले अघि बढ्छौँ भन्ने हो भने त्यो राजनीतिले सफलता प्राप्त नगर्ने अवस्था छ । यस्तो कुरामा तपाईँको ध्यान पुग्छ ?

मुलुकमा केही वर्षदेखि गठबन्धनको सरकार छ । त्यो सरकाले आशा भन्दा बढी निरासा दिएको छ । त्यसैका कारण पनि अहिले युवापुस्ता र समग्र नेपालीमा निरासा बढको देखिन्छ । भोलिका लागि भन्दा पनि अहिले नै बाँडचुँड गरेर खाउँ भन्ने संस्कारका कारण जनता आजित भएका छन् । अहिलेको निरासाको ज्वाला त्यो पनि हो ।

अहिले अपराधि, ज्यानमाराहरुले कैद मिनाह, सुन तस्करीहरुले पाएको उन्मुक्ति त्यसैको परिणाम हो । अहिले ललिता निवास काण्ड, सुनकाण्डmगायतमा पक्राउ परेकार दोषी देखिएकाहरुलाई दिइएका उन्मुक्ति त्यसैका उदाहरण हुन् । अहिले अपराधीहरुलाई सिंहदरबारको कुर्सीमा राख्नुपर्ने बाध्यता गठबन्धनलाई छ । नागरिकमा निरासा बढ्नुको प्रमुख कारण यो हो । देश अहिले दलालहरुले चलाएका छन् । एमालेको शासन मुलुकमा हुँदा जनताले सुशासनको अनुभूति गरेका थिए । स्वास्थ्य, शिक्षा, रोजगारीका क्षेत्रमा पनि एमाले नेतृत्वको सत्ता रहेका बेला अनुभूत गर्ने अवस्था थियो ।

भनेपछि अब पनि देशमा सुशासन कायम गर्ने हो भने एमाले बाहेक अरु दलबाट संभव छैन, होइन त ?

सुशासनका लागि, देशभक्तिको लडाईं, लोकतन्त्र र संविधानको रक्षाको लडाईं एमालेले मात्रै लड्न सक्छ । जसको विचार र नेतृत्वलाई बचाउनु सकियो भने मात्रै देशले काँचुली फेर्ने छ । अहिलेको सत्ताको नेतृत्वमा रहेका दलहरुबाट त्यो संभव छैन ।

एमालेलाई कमजोर पार्न सकियो भने हामीले खेल्न पाइन्थ्यो भन्ने अन्तराष्ट्रिय शक्ति अहिले लागि रहेको छ । त्यसैले समकालिन राजनीतिक दलहरुमध्ये अहिले लोकतन्त्र, सुशासन, संविधान र देशभक्तिको डुंगा पारी तार्न एमाले बाहेकको विकल्प छैन । जनताले पनि एमाले भएन भने देश असफल राष्ट्र बन्ने खतरा बढी हुन्छ । अहिले जनताले पनि यो महशुस गरेका छन् । हामीले शिसन ०८४ यसैका लागि भनेको हो ।

एमाले नेतृत्वको सरकार रहेका बेला गरेका सकारात्मक कामको प्रचार एमालेले गर्न सकेन भन्ने छ । योसँगै अब एमालेले मात्रै देश बनाउन सक्छ भन्ने आशा जनतामा दिने आधारचाँहि के–छ ?

हो, हामीले एमाले नेतृत्वको सरकार हुँदा गरेका कामको प्रचा गर्न नसकेको सत्य हो । हामी आफ्नो खुट्टामा टेक्न सकिने, अडिन सकिने नेपाल र नेपालीको परिकल्पना गरिरहेका छौँ । एमालेको बहुमतको सरकार हुने हो भने हामी यो परिकल्पनालाई पूरा गर्न सक्छौँ । यो आँट एमालेसँग छ, हामीसँग छ ।