हराउनै लागेको टोखाको मनोरथ तीर्थ

नवरात्रि मेलाको आज छैठौं दिन । आज काठमाडौंको भित्री क्षेत्रभन्दा अलि टाढा रहेको टोखा दोभानमा मेलाका लागि जाने गर्दछ । टोखास्थित यो दोभानलाई मनोरथ तीर्थ भनिन्छ ।

मनोरथ तीर्थको यो दोभानमा धर्मस्थलीबाट बगेर आइरहेको केशावती अर्थात बिष्णुमती नदीमा टोखाबाट बगेर आइरहेको विमलावती नदी मिसिन आइपुग्छ । यो काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने पहिलो तीर्थ हो ।

काठमाडौंबाट टाढा रहेको तीर्थ भएको कारणले काठमाडौंको भित्री नगरका मानिसहरू राति १२ बजे नै घरबाट प्रस्थान गर्दछन् ।

यो तीर्थमा स्नान गरिसकेपछि पीठका रुपमा फुसिंख्यः मनमय्जुस्थित मनमय्जु (इन्द्रायणी) लाई पूजा आराधना गर्दछन् । यो तीर्थमा स्नान गर्नाले मनमा उत्पन्न हुने राग, द्वेष, मोह जस्ता खराब भावनाबाट मुक्ति मिल्दछ भन्ने विश्वास गरिन्छ ।

स्वयम्भू पुराण नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार यो तीर्थमा हरियो वर्णको कुलिक नागराजको बास रहेको छ । काठमाडौंका वज्रयानी बौद्धहरु यो तीर्थमा आउँदा यहाँ आर्य लंकावतार सूत्र नामक ग्रन्थको स्तोत्र पाठ गर्ने परम्परा रहेको छ ।

कुनै बेला दुईतिरबाट फराकिलो बाटो बनाई बग्दै आउने यी दुवै नदीहरु अहिले भने अस्तित्वको संकटमा रहेको देखिन्छ । नदीहरु पूरै अतिक्रमणको शिकार बनिसकेको छ । अहिले नदी किनारमा रहेको एउटा सत्तल र प्रस्तरको चैत्य मात्र बाँकी रहेको देखिन्छ । नदीमा बगिरहेको पानीमा पनि ढलकै मात्रा बढी देखिन्छ ।

काठमाडौंका नदी जस्तो प्राकृतिक सम्पदामाथि भइरहेको अतिक्रमण कति चर्को रहेछ भन्ने कुराको दृष्टान्त टोखाको यो दोभानले पनि प्रस्तुत गरेको छ । यसले नगरको कला, संस्कृति र पर्यावरणमा पनि निरन्तर असर पार्ने निश्चित छ ।