उपत्यकाकाे सुरक्षा व्यवस्था कडा, सादा पोसाकमा पनि प्रहरी खटाइने

काठमाडौं, ७ मंसिर काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार गर्न लागेकाे प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे हाे।

दुवै समूहबीच झडप हुनसक्ने आकंलन गर्दै जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा गरिएसंगै नेकपा एमालेनिकट युवा संघ तीनकुने र व्यवसायी प्रसाईंको अभियान बल्खु क्षेत्रमा केन्द्रित हुने भएको छ।

उपत्यका प्रहरी कार्यालयले सुरक्षाका लागि रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।

आजकाे सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। आवश्यक परे थप जनशक्ति तयारी अवस्थामा रहने छन्।

काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने बताइएकाे छ। चोक-चोकमा हतियारसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएकाे छ। ट्राफिक व्यवस्थापनका लागि पनि ९७८ जना ट्राफिक प्रहरी परिचालन गरिने बताइएकाे छ। यसैगरी, सादा पोसाकमा ५०० प्रहरी खटाइने जनाइएकाे छ।