कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमा हुने
कञ्चनपुर, २० मंसिर । कञ्चनपुरका नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस समान्तभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी माघको दोस्रो साता कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको हाे ।
“प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन्”, भट्टले भन्नुभयो, “कञ्चनपुरबाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।” आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड आयोजना हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक्स, तेक्वान्दो कराते, उसुलगायत खेल समावेश हुनेछन् ।
गतवर्ष भएको सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ शिल्डमा कैलालीले प्रथम र कञ्चनपुरले दोस्रो हासिल गरेका थिए ।
