त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज, ७३ हजार विद्यार्थी आज दीक्षित हुँदै

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित रंगशालामा हुने दीक्षान्त समारोहमा ७३ हजार बढी विद्यार्थी दीक्षित हुने त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको छ ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने छन् । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो ।