भैरहवाबाट पूर्वराजाको राजनीतिमा आउँने हुङ्कारः नेपालभित्रै छु, नेपालीको साथमा छु
काठमाडौं, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई बढाउन थालेका छन् । पछिल्लो समय देश दौडाहालाई बाक्लो बनाउँदै आउनु भएका पूर्वराजा ज्ञानेन्द्रले आज भैरहवामा खुला ठाउँमै भाषण गरेर विस्तारै राजनीतिमा सक्रिय हुने संकेत दिनुभएको छ ।
आज भैरहवामा नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै उहाँले उहाँले ‘अब हामी सबै एकै ठाउँमा उभिऔं’ भन्दै सम्वोधन गर्दा त्यहाँ राजा आउ देश बचाउ भन्दै होहल्ला भएको थियो । उहाँले लामो सम्वोधन गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ भन्दै घृणाको आगोलाई जलाइदिउँ भन्दै निकै भावुक सम्वोधन गर्नुभएको थियो । उहाँले सबैलाई सोचौं भन्दै सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गर्न पनि आग्रह गर्नुभयो । ‘देश हामीले नै बनाउने हो । हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।
हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख–शान्ति यसैमा छ,’ लिखित सम्वोधनमा उहाँले भन्नुभयो, ‘आज हामी कताकता हराइरहेका छौं । कताकता आफैं हारिरहेका छौं । म जता जाउँ, जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धी बढाउ । यहाँ उभिएर म भन्दछु । म बोलिरहेछु । देश बनोस, देश बचोस भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु ।’
पूर्वराजा ज्ञानेन्द्रले आफू कतै अन्त नगएको भन्दै सदा–सदा नेपालीको साथमा र नेपालभित्रै रहेको दाबी गर्नुभयो । ‘नेपालीहरुको सुखदुख, सुविधा–असुविध वाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ उहाँले भन्नुभयो, ‘समाज कानून र व्यवस्थाबिना अस्तित्वमा रहनु हुँदैन । देश सग्लो र बलियो रुपमा अघि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अस्वस्था बिगे्रेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ ।’
उहाँले देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नु परेको छ भन्दै देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तिमा व्यापक हेरफेर र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । ‘राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य–मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन्,’ उहाँले भन्नुभयो, ‘हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ–बायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य हामीकहाँ छ ।’
उहाँले नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रिया नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएको उल्लेख गर्नुभयो । ‘त्यसैले के गर्दा र के–कस्तो विधि–अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैंले तय गर्ने विषय हो,’ उहाँले भन्नुभयो, ‘हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्छ भन्ने हामीलाई लाग्छ ।’
उहाँले सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं भन्दै देश हामीले नै बनाउने हो भन्नुभयो । ‘हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।
हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख–शान्ति यसैमा छ,’ उहाँले भन्नुभयो, ‘विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ । घृणाको आगोलाई कतै जलाइदिउँ । भाग्यको सिमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिउँ । उत्पिडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय अत्याचारबाट मुक्त गरिदिउँ । अनुहार फेरि–फेरि षडयन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाइदिउँ ।’
हाल भैरहवामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र भेट्न राप्रपाका शीर्ष नेताहरु हिजो भैरहवामा पुगेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंहले हिजो पूर्वराजासँग भेट गरेका थिए ।