जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन चटारो

जुम्लाका किसान

काठमाडौँ, कार्तिक ६ । दसैँको रौनक सकिँदै गर्दा हिमाली जिल्ला जुम्लाका किसानलाई पाकेको वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । मौसम अनुकूल भएसँगै जिल्लाका किसान कोदो, धान, फापर, सिमी, मकै, भटमास र आलुलगायतका बाली थन्क्याउन व्यस्त भएका छन् ।

तिला गाउँपालिका ८ का वडाध्यक्ष आसे बस्नेतका अनुसार दसैँको समयमा बाली पाकेकाले किसानलाई चाडपर्व मनाउनुका साथै कृषि उपज भित्र्याउने कामलाई पनि प्राथमिकता दिनुपर्ने अवस्था छ । मौसम सफा रहेकाले किसान खेतबारीमा पुगेर पाकेको बाली सुरक्षित रूपमा घरमा भित्र्याउन जुटेका छन् ।

बडादसैँ महत्त्वपूर्ण चाड भए पनि बाली पाक्ने समय यही भएकाले चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ की किसान अप्सरा पाण्डेले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाका अधिकांश किसान बिहानदेखि बेलुकासम्म खेतबारीमा खटिएर बाली भित्र्याइरहेका छन् ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार अहिले जिल्लामा फापर, कोदो, सिमी, भटमास र आलुलगायतका बाली थन्क्याउने काम भइरहेको छ । पाकेको बाली समयमै भित्र्याउनुपर्ने भएकाले किसानलाई यस याममा कामको चटारो परेको उहाँले बताउनुभयो ।

 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *