जबरजस्ती करणीअभियोगमा धिमाल, हत्या अभियोगमा प्रसाईँ पक्राउ
काठमाडौं,, १५ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ । धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । त्यसैगरी बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित सितापाइला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान आइतबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
त्यसैगरी विर्तामोड नगरपालिका–५ बस्ने इलाम माई नगरपालिका–१ महमाई माइतीघर भएकी ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको अभियोगमा विर्तामोड नगरपालिका–८ गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । झापा अर्जुनधारा नगरपालिका–६ स्थित बिहानी टोल रोड नम्बर १६ भित्र सडकको दक्षिण किनारा बिग ब्रदर कबडहल अगाडि माया पुलामी माघ ८ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न प्रसाईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिग ब्रदर कबडहलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले विवाह गर्ने प्रस्ताव गर्दा माया पुलामीले दाहिने आँखामा हातले हानेको विषयलाई लिएर प्रसाईले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
त्यस्तै अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।