शाखा अधिकृतले साढे ४ करोड अकुत सम्पत्ति कमाएकाे भन्दै अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, १६ माघ । भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत रहेका मिनबहादुर भट्टराईविरुद्ध अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भट्टराईविरुद्ध अख्तियारले करिब साढे ४ करोड अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले गैरकानूनीरूपमा ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा आर्जन गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका भट्टराईले २०७९ जेठ ३० गतेसम्म गरेको आम्दानी र खर्चको अनुसन्धान गर्दा स्रोत नखुलेको रकम फेला परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । सो अवधिमा उनको वैध आय ५ करोड ९४ लाख ६७ हजार १ सय ४८ रुपैयाँ १० पैसा देखिएपनि कुल सम्पत्ति भने १० करोड २३ लाख ९२ हजार २ सय ८८ रूपैयाँ १५ पैसा देखिन आएको प्रवक्ता घिमिरेले बताए ।

भट्टराईविरुद्ध ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय हुन तथा स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यस्तै भट्टराईले गैरकानूनीरुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठायतको नाममा जग्गा खरिद, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको भन्दै बिगो जफतका लागि उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको आयाेगले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *