बालकुमारी घटनाकाे प्रतिवेदन अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा भएकाे इपिएस घटनामा छानबिन समितिको प्रतिवेदनबारे अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएकाे छ ।

उहाँले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै यस्तो प्रतिबद्धता जनाउनुभएकाे हाे ।

उहाँले सांसदहरूले भने जसरी मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको भन्ने आरोपमा सत्यता नभएको दाबी पनि गर्नुभयाे ।

उहाँले भन्नुभयाे, बालकुमारी घटनामा संलग्नहरूलाई तत्काल निलम्बन गर्ने, छानविन अघि बढाउने र मृतकका परिवारलाई १० लाख मात्र होइन, ज्यान गुमाएका दुई व्यक्तिका परिवारका एकएक जनालाई रोजगारी दिने र श्रम मन्त्रालयले त्यो अफिसबाट थप रकम दिन निर्देशन पनि सरकारले दिएको छ।

प्रधानमन्त्री प्रचण्डले अहिले गृहमा रहेको प्रतिवेदन आजै आफूले बुझेर अध्ययन गर्ने र त्यसपछि त्यसैअनुसार आफू अघि बढ्ने बताउनुभएकाे छ ।