फागुन १९ देखि २७ सम्म ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने

काठमाडौंँ, ११ फागुन । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ ।

आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको बिभिन्न पक्षको जानकारी दिएको हो ।

फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।

‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्वपुर्ण हुने आयोजकको भनाई रहेको छ ।