राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहनुभएका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी हुनुभयो भने एक सांसद तटस्थ बस्नुभएको थियो । कुल ५९ सदस्यीय हुने सो सभामा हाल ५८ सदस्य कायम हुनुहुन्छ ।

सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।