ललितपुरको नागबहालमा पाँच वर्षको एकपटक आज १ सय २५ देवीदेवताको एकैपटक सम्यक महादान (तस्बिरहरू)

काठमाडाैं, १ चैत्र । ललितपुरको नागबहालमा आज उपत्यकाका ३२ महाविहार (बहाःबही) का १ सय २५ देवीदेवताको एकैपटक दर्शन एवं पूजा गरिंदै छ ।

ललितपुरमा पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व मनाइने परम्परा रहेको छ। त्यही परम्परा अनुसार इतिल्हन सम्यक महादान पर्वमा चापाँगाउँ, बुंङ्गमती, किर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एकै स्थानमा प्रदर्शनी तथा दर्शन गर्ने गरिएकाे हाे ।

सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ। यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको छ । ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको पाइन्छ ।’