एसिसी प्रिमियर कपकाे पहिलो खेलमा नेपाल विजयी
काठमाडौं, ३० चैत । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।
बलिङतर्फ मलेसियाका कप्तान विरनदीप सिंहले तीन तथा पवनदीप सिंह र मोहमद वाफिकले एक एक विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेल आगामी वैशाख १ गते कतारसँग खेल्ने छ ।