श्रीखण्ड तरुमुल महाविहारको अध्यक्षमा ई.दिल्लीरत्न शाक्य निर्वाचित
काठमाडौं, १६ वैशाख । श्रीखण्ड तरुमुल महाविहारको संरक्षण तथा सञ्चालन समितिको अध्यक्षमा ई. दिल्लीरत्न शाक्य निर्वाचित भएका छन् ।
उक्त महाविहारको संरक्षण तथा सञ्चालन समितिको शनिवार सम्पन्न निर्वाचनमा सर्वसम्मतिले ई. शाक्यको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित समितिको सचिवमा संघरत्न शाक्य, कोषाध्यक्षमा गौतममान शाक्य र सदस्यहरूमा गौतम बज्राचार्य, हेम बज्राचार्य, प्रविन बज्राचार्य र विक्रम शाक्य निर्वाचित भएका छन् ।
श्रीखण्ड तरुमुल महाविहार काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो विहार हाे । हनुमान ढोका परिसरभित्र कुमारी घरसँगै रहेको याे महाविहार करिव १४ सय वर्षभन्दा पुरानो मानिएकाे छ ।
करिब सात सय सदस्य रहेको यस महाविहारको स्थापना काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलाबज्र बज्राचार्यले सातौं शताब्दीमा गरेको मानिन्छ ।
सिखंमू बहाः को नामले पनि चिनिने यो महाविहार काष्ठमण्डप बनाएर बचेको रूखका काठबाट सिंह सतल बनाएपछि बाँकी रहेको काठको टुक्राटाक्री र जराबाट बनाइएकोले यस महाविहारलाई सिखंमू बहाः भनिएको भनाइ छ ।
