चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा, स्वरूप सच्याउन थालियो
काठमाडौं, २ मंसिर । चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको मूल स्वरूपमा फर्काउन थालेको छ । कारबाहीमा परेका मोटरसाइकलधनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक साताको अवधिमा सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेका सवारीधनीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मोटरसाइकलको स्वरूप सच्याउन थालेका छन् । यसले ट्राफिक प्रहरी कार्यालय परिसरमा दिनभर चहलपहल बढेको छ ।
गोकर्णेश्वरबाट मोटरसाइकलको स्वरूप सच्याउन आउनुभएका अर्जुन लामाले साथीहरूको लहैलहैमा लागेर छोराले मोटरसाइकलको स्वरूप परिवर्तन गरेको बताउनुभयो । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि आफैँ मिस्त्री बोलाएर पुरानै स्वरूपमा फर्काउनुपरेको उहाँको भनाइ छ ।
त्यस्तै, कागेश्वरी मनहराका रमेश श्रेष्ठले पनि केही समयको रमाइलोका लागि गरेको गल्तीले अनावश्यक दुःख पाएको बताउनुभयो । अब यस्तो गल्ती नगर्ने उहाँको भनाइ छ ।
सवारीसाधनमा आफूखुसी स्वरूप परिवर्तन गर्दा ध्वनि तथा वायु प्रदूषण बढ्नुका साथै सडक सुरक्षामा समेत जोखिम उत्पन्न हुने भएकाले प्रहरीले ‘मोडिफाइड सवारीसाधन नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान २०८३’ सञ्चालन गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार कम्पनीले जडान गरेको साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने र साइलेन्सरबाट आगोका झिल्का निकाल्ने प्रवृत्ति बढेपछि अभियान थालिएको हो । विशेषगरी रातिको समयमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा सर्वसाधारणको निद्रा र शान्त वातावरणमा असर पर्ने गरेको उहाँले बताउनुभयो ।
अभियानप्रति सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौंको बानेश्वरकी विनिता थापाले चर्को आवाजमा मोटरसाइकल चलाउँदा राति सुत्नसमेत समस्या हुने गरेको बताउँदै प्रहरीको अभियानले राहत मिलेको प्रतिक्रिया दिनुभयो ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा परेका सवारीधनी तथा चालकले यातायात व्यवस्था कार्यालयमा गई कानुनबमोजिम जरिवाना तिर्नुपर्नेछ । त्यसपछि कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारीसाधनको मूल स्वरूप कायम गर्नुपर्नेछ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्था छ ।
ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ४०१ मोटरसाइकलमध्ये सबैभन्दा बढी ३४७ वटा बुलेट रहेका छन् । त्यस्तै, क्रसफायर १७, एनएस ११, केटीएम ड्युक नौ, स्कुटर चार र डुकाटी दुई वटा छन् । एमटिआरलगायत अन्य आठ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएका छन् ।
चर्को आवाज निकाल्ने मोटरसाइकलबाट विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी प्रभावित हुने गरेका छन् । विद्यालय तथा आवासीय क्षेत्र आसपासमा यस्ता मोटरसाइकल चलाउँदा विद्यार्थीको अध्ययनमा समेत बाधा पुग्ने गरेको स्थानीयवासीको गुनासो छ ।
सार्वजनिक सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले व्यक्तिगत मनोरञ्जन वा प्रदर्शनका नाममा अरूको स्वास्थ्य, शान्ति र सुरक्षामा असर पर्ने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ । ध्वनि प्रदूषण नियन्त्रण तथा सवारी नियमको पालना सुनिश्चित गर्न अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
