काठमाडौँ-बेइजिङबीच भगिनी सम्बन्ध स्थापना र नागरिक स्तरको सम्बन्ध विस्तारमा कार्यवाहक प्रमुख डंगोलको जोड

काठमाडौँ, मङ्सिर २ ।  काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपालको राजधानी काठमाडौँ र चीनको राजधानी बेइजिङबीच भगिनी सम्बन्ध स्थापना गरी दुई सहरका नागरिकस्तरको सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग आज महानगरपालिकामा भएको शिष्टाचार भेटका क्रममा उहाँले नेपाल र चीनबीचको ऐतिहासिक, कूटनीतिक तथा नागरिकस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन राजधानी सहरबीच भगिनी सम्बन्ध आवश्यक रहेको बताउनुभयो । उहाँले काठमाडौँको चीनका सियान, नाञ्जिन, ल्हासालगायत सहरसँग रहेको भगिनी सम्बन्धको अनुभव उल्लेख गर्दै बेइजिङसँग पनि यस्तो सम्बन्ध स्थापना गर्न प्रस्ताव गर्नुभयो ।

नागरिकस्तरको सम्बन्ध विस्तारसँगै ज्ञान, सीप, प्रविधि र सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिनुपर्नेमा जोड

कार्यवाहक प्रमुख डंगोलको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै अध्यक्ष वानमिङले दुई देशका राजधानी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी डिसेम्बर ९ देखि ११ तारिखसम्म चीनको ग्वाञ्जाउमा आयोजना हुने ग्लोबल मेयर्स फोरममा सहभागी हुन कार्यवाहक प्रमुख डंगोललाई निमन्त्रणा गर्दै काठमाडौँ र बेइजिङबीचको भगिनी सम्बन्धले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भगिनी सम्बन्धलाई औपचारिक सम्झौतामा मात्र सीमित नराखी नागरिकस्तरमा ज्ञान, सीप, प्रविधि र क्षमता अभिवृद्धि, संस्कृति आदानप्रदान तथा व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । दुई सहरबीच सहकार्यका माध्यमबाट उद्योग तथा रचनात्मक क्षेत्रको विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने उहाँको भनाइ थियो ।

उहाँले २०७२ सालको भूकम्प, सन् २०१९ मा फैलिएको कोभिड–१९ महामारी तथा २०८३ सालको रसुवा–भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापनमा चीनले पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो । साथै, काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने विश्वविद्यालय बौद्ध शिक्षा अध्ययन गर्न चाहने चिनियाँ विद्यार्थीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने धारणा राख्नुभयो ।

मानव सभ्यताको विकासक्रमदेखि नै कला, व्यापार र संस्कृतिका माध्यमबाट नेपाल–चीन सम्बन्ध जोडिँदै आएको उल्लेख गर्दै उहाँले आधुनिक विकास र समृद्धिको यात्रामा पनि दुवै देश सँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनका असर न्यूनीकरणलगायत साझा चुनौती समाधानका लागि समान धारणा बनाएर सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष वानमिङले काठमाडौँको संस्कृति, सांस्कृतिक वैभव र सहरी व्यवस्थापनबाट आफू प्रभावित भएको बताउनुभयो । स्थानीय रैथाने समुदायको प्रतिनिधित्व गर्दै युवा महिला नेतृले महानगरको नेतृत्व गर्नु राजनीतिक दृष्टिले पनि उदाहरणीय रहेको उहाँको भनाइ थियो ।

काठमाडौँसँग कला, संस्कृति र पर्यटनलगायत क्षेत्रमार्फत नागरिकस्तरको सम्बन्ध विस्तार गर्न चीन इच्छुक रहेको उल्लेख गर्दै उहाँले दुई सहरबीच सहकार्यका पर्याप्त सम्भावना रहेको बताउनुभयो । भेटमा सहरी हरित अर्थतन्त्र तथा रचनात्मक उद्योगको विकास र प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो ।

भेटमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपालका लागि चीनका राजदूत झाङ माओमिङ, महानगरपालिका तथा चिनियाँ दूतावासका अधिकारी र प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो ।

महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तमका अनुसार काठमाडौँ महानगरपालिकाको चीनका सात सहरसँग भगिनी सम्बन्ध छ । सन् १९७० जनवरी १ मा सियानसँग भगिनी सम्बन्ध स्थापना भएपछि चीनका अन्य सहरसँग पनि यस्तो सम्बन्ध विस्तार हुँदै आएको हो ।

महानगरपालिकाले सन् २०११ अगस्ट २७ मा ल्हासा, सन् २०१६ मे ११ मा लाञ्चोउ, सन् २०१६ डिसेम्बर ९ मा छेन्दु, सन् २०१९ अक्टोबर १३ मा नाञ्जिन, सन् २०२१ मार्च २५ मा सेञ्जेन र सन् २०२६ सेप्टेम्बर ९ मा जिञ्झाउसँग भगिनी सम्बन्ध स्थापना गरेको विवरणमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकासँग सबैभन्दा धेरै सहरको भगिनी सम्बन्ध रहेको देश चीन हो । चीनपछि संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिक्सबर्ग, युजिन र रोचेस्टर गरी चार सहरसँग महानगरको भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, बेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिडसँग पनि काठमाडौँ महानगरपालिकाको भगिनी सम्बन्ध कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *